Wednesday, January 12, 2011

माङ्फुनको कायाकल्पमा बसेर सुस्ताउँदाका अनुभूति सगुनलाई
-डा. गोविन्दराज भट्टराई
-------------------------------------------------------

दुई वर्ष कटिसकेछन् । बारीमा मकैका बोट सुक्न थालेका थिए । कोदोबारी पसाउँदै थियो । छानामा फर्सी घिरौँला झुन्डिरहेका थिए । त्यस्तो एकदिन दसैँअघि म फिदिमबजार पुगेको थिएँ । त्यहाँ पाँचथर पुस्तकालयले आयोजना गरेको एक भव्य साहित्यिक कार्यक्रममा सगुन सुसाराको ‘माङ्फुनको कायाकल्प’ को विमोचन गर्ने सुयोग मिलेको थियो ।

माङ्फुनको कायाकल्प एक कवितासङ्ग्रह । यो आकारमा ससानै छ, तर यसमा अलिकति घोषणा, अलिककति सैद्धान्तिक स्वरूप र अलिकति प्रयोग भएकाले यो एकप्रकारको अपरम्परितता बोकेर आएको डिपार्चर हुन गएको छ । त्यसैले यसको पठनसँग कठिनाइ जोडिएको छ । यसको बोध परम्परित सरल रेखामा छैन ।

यो शीर्षक (माङ्फुनको कायाकल्प) नै अनौठो छ । अनेकमध्ये एउटा डा. टंक न्यौपानेको शब्दमा ‘नेपालेली’ भाषाबाट आएका कवि सुसारा । उनले आफ्नो मातृ–राई भाषाबाट यो शब्द शीर्षकमा राखेकाले यस्तो लागेको हो । माङफुन एउटा हंश, आत्मा, कल्पित अस्तित्व, मिथकीय स्वरूप । त्यसको कायाकल्प कस्तो होला ? वास्तवमा यो शीर्षक पढ्दा काफ्काको लघु उपन्यास कायाकल्प (मेटामर्फोसिस) को सम्झना हुन्छ । रामचन्द्र केसीद्वारा अनूदित कायाकल्प हेर्नु— ग्रेगोरी साम्जा हिजो राति सद्दे सुतेको थियो भोलिपल्ट एउटा कीरामा परिणत भएको छ; त्यो कायाकल्प थियो । काफ्काले मिथकीय अस्तित्वहरू रूपान्तरित हुने विश्वासलाई मानवमा आरोपित गरेका थिए । यद्यपि, यस्ता रूपान्तरणका कुरा पुराकथाका मिथकीय पात्रमा मात्र हुन्थ्यो । मानव कहिले पशुमा, कहिले कीटपतङ्गमा वा पत्थरमा बद्लिएका छन् । यता सगुनको माङ्फुन काफ्काको झैँ आख्यानमा स्वैरकल्पनाले कायाकल्पित नभएर अघि नै राई किराती मुन्धुम र मिथकले स्थापना गरेको कायकल्पित स्वरूप हो । यस्ता कायाकल्पहरू हरेक जातजातिका अद्यकथामा हुन्छन् ।

यता नरेश सुनुवारले कविता सङ्ग्रहको शीर्षक जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेक्सेलेले रहेको छ । यो सुनुवार संस्कृतिबोधक शब्दध्वनि; त्यसमा आधारित शीर्षकको एक कविता पनि रहेको छ । यसरी हेर्दा नेपाली कविले आफ्ना संस्कृतिका गम्भीर सङ्केतहरू अन्य भाषीसमक्ष पु¥याउन थालेका छन्, अन्य संस्कृतिमा मिसाउन थालेका छन् । यतिखेर धेरै एथ्निक लेखकमा त्यो चेतना पाइन्छ । त्यसले नेपाली साहित्यको विस्तार गर्दैछ । तर, सगुनको कृतिमा माङ्फुन शीर्षक कविता वा बोधक हरफ छैनन् । एउटा आकृति कविता छ— ग्लोबलाइजेसन माङफुन चक्रव्यूहको नजिर ।

â


सगुन सुराराको पूर्वबाट भएको उदयलाई म धेरै प्रकारले अर्थपूर्ण ठान्दछु । यताबाट उत्तरवर्ती सोच नामक एक साहित्यिक आन्दोलन प्रस्तावित भएको थियो । उत्तरवर्ती सोच ल्याउने पाँचथरले अरू पनि अनेक सोच विचार आन्दोलन ल्याइरहेको छ । बैरागी काइँला समूहको आयामेली यताका सिर्जनशील अराजकता, रङ्गवाद हुँदै आएर एक सामयिक अनुकृति लाग्ने उत्तरवर्तीको जन्म पनि यहीँ भएको छ । मैले कृति विमोचनका बेला भनेको सम्झिन्छु— यही पाँचथरबाट आज अर्को पनि सैद्धान्तिक अवधारणाको जन्म भएको छ, त्यो हो ‘उत्तरबत्र्ती सोच’ । भवानी तावा, सगुन सुसाराहरूले प्रयोग गरेको ‘उत्तरवर्ती’ पद ‘पोष्टस्ट्रक्चरल’ को समानार्थी लाग्न सक्छ । यसबारे पुष्प सुब्बा थाम्मुहाङका केही अवधारणाहरू सार्वजनिक भइसकेका छन् । तर, शब्दान्तरमा भन्नु पर्दा यो पनि ‘रङ्गवाद’ जस्तै एउटा उत्तरआधुनिक प्रयत्न नै हो, त्यैतर्फको यात्रा हो; एक सहयात्रा । यी पदावली फरकफरक भएतापनि सिद्धान्तको मर्म त्यति फरक छैन । सगुनले आफ्नो कृतिमा उत्तरवर्तीको लागि प्रस्तावित गरेका चारवटा सिद्धान्त छन्—

स्व–स्वायत्तता विकल्प

बहुलता सार्वभौमिक सत्य

अनुपस्थितिको उपस्थिति

खण्डनको खण्डन

लागिका लागि भनेर ‘भूमिका’ बस्ने ठाउँमा आएको एउटा ससानो अलिक अमूर्त त्याग्ने प्रस्तावना छ । सूत्रको सिरानमा राखिएको लागिका लागि सूत्रको पृष्ठभूमि हो; त्यसलाई यस रचना पाठको अन्त्यमा प्रस्तुत गरेको छु ।१

म धेरै बोल्न चाहन्न । यिनै उत्तरवर्ती सूत्रबारे अलिकति लागेको कुरा भन्दछु । त्यसले कृतिभित्र प्रवेश गर्ने आधार प्राप्त होला भन्ने लाग्दछ ।

स्वस्वायत्तता विकल्प ः यसले व्यक्तिगत स्वतन्त्रतालाई, आफ्नो विचारको वा निर्णयको अधिकारलाई जनाउँछ; आफ्नै निर्णय गर्ने अधिकारलाई । यसमा व्यक्ति वा समूह एकहदसम्म विस्तार हुनसक्छ । वास्तवमा यतिखेर विश्वले नै व्यक्तिगत स्वतन्त्रतालाई स्थापित गराउँदै आएको छ । अन्य प्रकारका स्वतन्त्रताको आधार यही हुन्छ । यो सूत्र त्यस्तै अनुगुञ्जन हो ।

दोस्रो धारणा छ— वहुलता सार्वभौमिक सत्य । पनि वहुलता र विविधतापूर्ण स्थितिको स्थापना नहुञ्जेल एकाधिकारको अन्त्य हुँदैन, निरङ्कुशताले मान्छेलाई अँचोटिरहन्छ । ऊ मुक्त हुँदैन । व्यक्तिको मुक्तिले पुग्दैन । त्यो सबै समूहलाई आवश्यक छ । अनेक प्रकारका भाषिकताहरू, विविध सांस्कृतिकताहरू, विविधतापूर्ण भौगोलिकताहरू, विविधतापूर्ण विचारहरू, विविधतापूर्ण दर्शनहरू, धर्महरू अनेक छन् । सबैको अस्तित्वलाई स्वीकार्नु पर्दछ । सानो बिरुवा पनि ठूलो हुने आकाङ्क्षाले बढिरहोस्, सानो खोल्सो पनि नदीमा परिणत हुने इच्छाले बगिरहोस् । सबै प्रकारका एकाधिकार समाप्त होउन् । प्रकृतिले त्यही भन्छ, वनस्पति, प्राणी जगत्, जलवायू भूगोल विश्व नै विविधायुक्त छ, प्रकृतिको अनन्त स्वरूपले त्यो भन्दैछ, मानव मस्तिष्कले त्यो भन्दैछ । जैविक जस्तै, प्राकृतिक जस्तै मानव सोचमा, विचारमा दर्शनमा आएका विविधतापूर्ण स्थितिप्रति असहिष्णु हुँदा तिनीहरूलाई एकाम्मे पार्ने प्रयत्न गर्दा फेरि एक केन्द्रीयता यथावत रहन्छ, फेरि परिस्थिति विनिर्मित नभई रहन्छ । यो चेतना वर्तमान विश्वको केन्द्रीय सिद्धान्त हो । यसले उत्तरआधुनिक सिद्धान्तलाई चलाउँछ । यसरी हेर्दा उत्तरआधुनिकलाई उत्तरवर्ती नाम दिनु पनि उचित लाग्दछ । किनभने संरचनावादी तगारो नाघ्नु उत्तरवर्तिता हो— पोस्टस्ट्रक्चरलिजम् । यसले गर्दा नवीनताले महत्व पाउँछ, अपरम्परितताले पनि केन्द्र बनाउँछ, नत्र हिजोको सबै दोहो¥याउनुमा नवीतना कहाँ छ, प्रगति कहाँ छ ?

तेस्रो कुरा छ— अनुपस्थितिको उपस्थिति । यो डेरिडिअन मतको रिक्तता र अनुपस्थिति (ग्याप्स र एब्सेन्जेज) को चेतना हो । विद्यमान ज्ञानमा, सूचनामा, अध्ययनमा, अभ्यासमा भएका रिक्तताहरू अनन्त छन् । हाम्रो ज्ञान यति नै होला भन्छौं, त्यो भोलि थपिन्छ, हाम्रा सिद्धान्त यी भन्दा हुने छैनन् भन्दछौं, त्यसले भोलिलाई पुग्दैन, कुनै कुरा हिजोको काम लागेन । सोचमा, विचारमा, मान्यतामा, सिद्धान्तमा सधैँ निरन्तर परिष्कार भइरह्यो । हामीले यो कुरा हुन असम्भव छ भने पनि पछि सम्भव हुँदै आए, समाजले वर्जना गरेका कतिपय परम्पराहरू त्रुटीपूर्ण थिए आज तिनको करेक्सन हुँदैछ । हामीले गल्ती गरेका रहेछौँ— मानिस यता लगाउँदै जान्छन् । यसो पो गर्नु रहेछ थाहा पाउँदै जान्छन् । त्यसैले छोपिएको कर्म, अभ्यास, सम्भावनालाई पाखा आउन दिनुपर्छ । हरेक व्यक्तिको र समूहको आवाजभित्र केही सत्य लुकेको हुन्छ । आज राजनीतिक, भाषिक, सामाजिक अधिकारहरू यसरी नै थपिँदै गएका हुन् । सगुनका आधी रचना कविता जस्ता छैनन्, तर कविता हुन् भनेर पढ्दा मात्रै केही नयाँ आविष्कार हुन्छ । त्यसको उपयोगिताचाहिँ समाजले नै ठहर गर्छ । यसरी हरेक नवीनता स्वीकार्य छ, पुरानो सधैँ प्रतिस्थापित अथवा निरन्तर विनिर्मित ।

चौथो कुरा छ— खण्डनको खण्डन । सायद यो संवादको निरन्तर चक्र हो । बोलीको विमर्शको, सत्य निरूपणको अनन्तता । कतै स्थिर भएर पोखरी भएर जम्ने होइन, निरन्तर चलिरहने । एक विचारलाई, एक अभ्यासलाई, एक परम्परालाई अपरिवर्तनीय र अन्तिम सत्य ठान्ने होइन । त्यसको पनि खण्डन हुनसक्छ, त्यसको पनि खण्डन हुनसक्छ, त्यसको पनि खण्डन हुनसक्छ, फेरि त्यही नयाँ थपिन पनि । यस्तो निरन्तर यात्राले सत्यलाई अघि बढाइरहन्छ । तर, कहिल्यै फाइनलमा पुग्न दिँदैन । केन्द्रलाई भत्काइरहन्छ, अर्को बन्छ, फेरि भत्किन्छ । यो कुरा सत्यझैँ लाग्छ, भोलि त्यो छलिएर पुरिन्छ । यसले पनि स्वतन्त्रतालाई आवश्यक आधार भन्छ । प्रश्न गर्ने, सोध्ने, खोजी गर्ने, असन्तुष्टि प्रकट गर्ने अवसर चाहिन्छ, स्वतन्त्रता चाहिन्छ । नत्र विज्ञान रोकिन्छ, कला साहित्य रोकिन्छ, राजनीति जड बन्छ सबै कुराले निरन्तरता खोज्छ । अघिको पुरानो अस्वीकार गर्न पाउनु प¥यो, नयाँ खोज्न पनि । यसको विपरीत स्थिरत्वमा विश्वास गर्नेहरू जडत्वलाई पक्रिरहेका हुन्छन् । समय भविष्यमा पुगेको हुन्छ उनीहरू भूतमा हुन्छन् । त्यसो जडतालाई सत्यात्त मान्नेहरूको उत्तरआधुनिकता अलिक अरूचिकर लाग्छ । उत्तरवर्ती झैँ नयाँ सिद्धान्तलाई पनि अस्वीकार गर्दछन्, किनभने उनीहरूलाई कुनै प्रकारको प्रतिस्थापना र प्रगति अवाञ्छनीय लाग्छ । तर पनि समयलाई सबै जडत्वका सहारा फोरेकै छ ।

अघि कृति विमोचनको दिनमा उत्तरवर्ती आजको प्रसङ्गमा भवानी तावाले आफ्नो मन्तव्य प्रकाशनको क्रममा थपेको एउटा कुरा ‘ग्लोबलाइजेशनको विरोध गर्दछौँ’ भन्ने पद छ, त्यो विचारणीय छ । एकातिर साइबर कल्चरले हामीलाई विश्वसित जोडेर अभिन्न पारेको छ, र हामी उत्तरआधुनिक आँगनतिर धकेलिएका छौँ भने यस अवस्थामा ग्लोबल परिस्थितिबाट हामी मात्र भिन्न अलग र टाढा हुने कुरा व्यवहारमा कठिन हुनसक्छ । खुला समाजमा टेक्नु र ग्लोबलाइजेशनबाट टाढिनु अन्तरविरोधी धारणा छन्, यद्यपि यसले ल्याएको विकृतिको हामी तिरस्कार गर्दछौँ ।

भवानीको कार्यपत्रको दोश्रो कुरा हामी आफैँतिर फिरौँ, आफ्नै मूल मान्यता, चिन्तन र मिथकलाई साहित्यमा हुलौँ भन्ने तर्कको म प्रशंसा गर्दछु । अहिलेको एथ्निक स्टडिजले त्यही भन्छ ।

विमोचनको घडीमा मैले यति बोलेको सम्झिन्छु— सगुनको कृतिलाई सम्पूर्ण उत्तरआधुनिक सिद्धान्तले हेर्न बुझ्न प्रयत्न गर्नु पर्दछ । यसमा भुटानी शरणार्थी, आङसाङ सुकी, युद्ध र द्वन्द्व आदिको प्रसङ्गले उन्मुक्तिको बाटो खोज्दछ । फेरि कवितामा नयाँ आकृति र प्रयोगले पनि परम्परा तोडेर विद्रोह गर्दछ, नयाँ स्थापना गर्न खोज्छ । यसमा प्रयुक्त जातीय÷स्थानीय मिथकले पनि परिचय माग्दछन्, ती कुरा राष्ट्रिय साहित्यमा पुग्दछन् । विचार र शिल्प दुवैमा नवीनता बोकेको यो कृतिले पाँचथरलाई अरू चिनाउनेछ, फिदिमको चर्चा राजधानीमा हुनेछ, मेरो शुभकामना सगुनलाई । यस कृतिको विमोचन गरेर यति बोल्न पाउँदा म आज कति खुशी भएको छु । म चाहन्छु, युवा पुस्ताले यसको गम्भीर अध्ययन गरोस् ।’


माङ्फुनको कायाकल्प माथिका चारवटै सिद्धान्तमा राखेर हेर्नु पर्ने । भवानीले भनेका आधार पुस्तकमा प्रकाशित घोषणापत्रमा छैनन् ।

यो किरात–राई भाषा संस्कृतिमा भिजेको कृति हो ।

यी नवीन शब्दहरू— टोङमा र सिम्मा, थुथुरीवेद, फुङ्लोतिहाङमा, कोङपि, चासोक, सुङ्सा, लेक्सिबोक्ताङ् आदि । यस्तो नवीन शब्दबेगरको कुनै पृष्ठ छैन, छ भने फेरि अरू स्थानीय ऐतिहासिक सन्दर्भ आउँछन् जस्तै काङसोरे, रावा, गोल्मे, नेगियार, डाबे, घङ्गरु, साकेला, पोङ आदि । यसले गर्दा कविता विविध प्रकारका लोकल इमेजले भरिएको छ, परन्तु कतै कहीँ फुटनोट, सन्दर्भ नहुँदा यसको बोधमा अवरोध आउँछ । पाठक प्रयोग हेर्न रुचाउँछ, तर बोध हराएको पाठ क्रमशः मधुरो हुँदै जान्छ ।

अत्यन्तै अमूर्त इमेजको घनत्वले गर्दा कवित्वले अर्कै रूप लिन्छ । पङ्क्तिहारभन्दा शब्दहरू गह्रौँ भएका छन् । किनभने ती विम्बात्मक उद्देश्यका उपस्थिति हुन् ।

अविभाज्य सम्बोधन, राता सेता आरेखदेखि अन्त्यसम्मका कविता चित्रात्मक, दृश्यात्मक, विम्बात्मक प्रस्तुति हुन् । परम्परित कविताका विकल्प हुन् । यस्ता कविता लिएर अघि फ्रान्सेली कवि प्लूबेर र मोलियर आएका थिए । ती आकृति कवितालाई उसबेला मोडर्निस्ट ट्रेन्ड भन्थे । आज सय वर्षपछि ती पोस्टमोडर्न भए । उसबेला साहसले ती बँचेका थिए । आज ती सिद्धान्तले बचेका छन् । नवीनता, विविधता, बहुलता, अपरम्परितता— यस्ता विचारले मात्र तिनको रक्षा गर्छ । उत्तरसंरचनात्मकताले मात्र नवीन संरचना भित्रिन दिन्छ ।

यसप्रकारको चित्र–दृश्य कविता विम्बबारेमा नेपाली साहित्यमा बैरागी काइँलादेखि रङ्गवादीसमूहमा आइपुग्दा अनेक अभ्यास र प्रयोग भइसकेका छन् । तिनको विस्तृत चर्चा भएको छ । सगुन एक निरन्तरता हुन् ।

सगुनका सिर्जना विचारका छन्, विचार माग्छन् । निरन्तरताको निमित्त, जीवनको निमित्त लेखिएका छन् । उनी भन्छन्— बग्नु मेरो वैचारिक अराजकता हो । हो पनि ‘बग्नु’ ले सबै उत्तरवर्ति सोचलाई पक्रिन्छ, अर्थ दिन्छ । चेतनाका कविता भएको एक प्रमाण छ—

चेतको रेविजबाट

उदेक बौल्हाएर

सांस्कृतिक बन्चरोसँग

अपनत्वको कठघरामा

सम्पूर्णताको उद्घोषमा

झोँकले टाउको म उभिएको छु ।

धेरै ठाउँमा त बढी अमूर्तताको कारण अत्यन्तै भिन्न व्यक्तिबोलीको कारण अर्थ खोल्नु हम्मे पर्छ । त्यसबेला अनर्थ पनि कविता हो अर्थ पनि भन्नुपर्छ, जस्तो कि—

भालेका मुन्टाहरू निमोठिँदा

झुल्के घामको स्पर्शबाट

थुमहरूमा इतिहास लेख्न

बामपुडको कुँदिएको

जबर्जस्ती

घङ्गरु नियतिले बाध्य गराएको म ।

यहाँ ‘भालेका मुन्टा’ निमिठिने अवसर, समय सङ्केत, ‘घङ्गरुको नियति’ को सङ्केत, ‘थुम’ र ‘बामपुड्के’ को सङ्केत बुझ्न कठीन छ । लेखकको व्यक्तिबोली भएको छ । त्यसो भएता पनि सगुन उद्देश्यपूर्ण छन् । उत्तरवर्ति चार सूत्रले सबै अर्थिन्छ । सबै विचार डेरिडाको लागि शब्दखेलमा बनिन्छ, भत्किन्छ पनि । अर्थहरूको अन्तिम टुङ्गो नलाग्ने र भ्रान्ति उत्पन्न गरिरहने कारण त्यो पनि हो । सगुनले शब्दखेलको घना प्रयोग गरेका छन्, धर्मेन्द्र, स्वप्नील, विमिलि, चन्द्रवीरले झैँ, चन्द्र योङ्याले झैँ । अहिले प्रकाशित विजयबोधको लावतीको आत्मा एटमको खिचडी त्यसको निरन्तरता हो । सगुनको एक नमूना यस्तो छ—


त्यसैलाई पो–कोपार्न

किनेको रुमाल दिन सक्दिन

नमागेकी हौली

बे–बिलोन–कोह्याङ–गीङ्गा–डन

ताजम–हलको न जिकिर

बरु कस्तो सुन्दर नाटक ?


अन्त्यका क्भ्एत्भ्ःद्यभ्च् ज्ञज्ञ को सिरिजका कविताले मानव आकाङ्क्षाका उत्थान र पतनका कथालाई सङ्केत गर्छ । तेस्रो 11 मा कविता–विचारभित्र लुकेको सम्पूर्ण दर्शन अभिलिखित छ—


विनिर्माणको अर्को निर्मित अस्तित्व ।

विसंरचनाको अर्को संरचनात्मक अस्तित्व

आख्यानको अर्को पराख्यानात्मक अस्तित्व

विसङ्घटनको अर्को सङ्घटक अस्तित्व


अप्रकट धेरै छन्, अर्थ पर्खिरहेका धेरै छन् । चित्रमा दृश्यमा कविता हेर्नेमा धेरै छन् ।

नेपाली कविताको अपरम्परित मोडलाई सगुनले अझ पर पु¥याएका छन् । पोस्टमोडर्न दर्शन र चिन्तन कविता प्रयोगमा उत्रेको पढ्नेले सगुनलाई बिर्सनु अन्याय हुनेछ । दुर्गम पहाडको पल्लो छेउमा बसेर पनि विकल्प चेतनालाई आह्वान गर्ने साहसी सगुनलाई बधाइ छ । उत्तरवर्तिता नेपाली साहित्यमा लेखिइसकेको छ ।


१७ मङ्सिर २०६६

ट्याङ्लाफाँट, कीर्तिपुर त्रिभुवन विश्वविद्यालय

tu.govinda@gmail.com काठमाडौं, नेपाल



१. अन्तिम टिप्पणी

लागिका लागि

विकेन्द्रीयता आउँछ– विचार । उपस्थितिको यो सर्वमान्य अस्तित्व स्वीकार । अझ सजिलो खण्डनको खण्डन मात्तै । भएपछि चेतनाको जगत्ले आयौँ– भाग उत्तिकै ।

यथार्थबोधले चिमोट्छ– स्वयं । विस्तृतिको लहरा फैलन्छ नै । त्यो एउटा सत्य— कारणहरूको जरा खोतलेपछि, सार्वभौमिक असत्य । समयान्तर– जातीयान्तर– वर्गान्तर ।

अनुपस्थितिको उपस्थिति– लागि । चेतनाले म को समूल झेल खेल्छ । स्वतन्त्रताको तुरूङ हाल्छ । र, भोग्नुले ओकल्छ– दाउ । वैचारिक, चेतनिक जोहोले– मान्नु ।

उपस्थितिहरूबाटै जम्मै मान्दैनन्– एकलकाँटे । आजको सोचले मानेको सर्वव्यापकता– एत्ति । एत्ति बनाऔँ– बोधले । उत्तरवर्तीको भाग मान्छौँ हामी, खण्डनको खण्डन ।

स्व–स्वयत्तता हुनु– बहुलता । उत्तरवर्ती संरचना आइपुग्नु तेत्ति । यद्यपि, जातीय मिथकको प्रयोगले बनाएको वैभवशाली साहित्यलाई ‘जातीयता लादे’ – भन्नु बासी विचार, वैचारिक दरिद्रता र सङ्कीर्ण चेतना– मात्तै ।


ले उत्तरवर्ती सोच

स्व–स्वायत्तता विकल्प ।
बहुलता सार्वभौमिक सत्य ।
अनुपस्थितिको उपस्थिति ।
खण्डनको खण्डन ।

No comments:

Post a Comment

प्रतिक्रिया समाबेशका निम्ती तल Comment As Roll नेर Name/URL Select गरेमा तपाइलाई सजिलो हुनेछ।