Thursday, January 13, 2011

उत्तरवर्ती सोच र भिन्नताको कुरा
-डा. सन्जिव उप्रेती
---------------------------------------------------------------
उत्तरवर्ती सोचको वैचारिक क्षितिजभित्र लेखिएका कविता र समीक्षा पढें । मित्रहरुले उत्तरवर्तीको
‘उत्तर’ लाई दुईवटा छुट्टाछुट्टै सांस्कृतिक भाषिक अर्थसँग जोड्नु भएको रहेछ । मलाई त्यो यो
ग रुचिकर लाग्यो ।
एकातिर ‘उत्तर’ शब्दले उत्तरआधुनिकताको ‘उत्तर’ लाई जनाउदो रहेछ । अहिलेको संसार
मा आधुनिकताको समसामयिकता घट्दै गएको छ । आधुनिकताले सत्य र संस्कृतिहरुको बहुलतालाई स्वीकार
गरेन । संसारभरि एउटै किसिमका (खास गरेर पश्चिमेली) सांस्कृतिक ‘रङ’ पोत्न खोज्यो । त्यसैले उत्तर
वर्तीहरु खुलेर कुरा गर्छन् – डेरिडालगायत अन्य पश्चिमेली उत्तर आधुनिक र उत्तर–संरचनावादी विचारकहरु
को सिद्धान्तलाई प्रयोग गर्दै आधुनिकताका एकात्मक सत्यहरुको विनिर्माण गर्नुपर्छ ।
यसवाहेक ‘उत्तर’ को अर्को अर्थ पनि छ । ‘उत्तर’ ले नेपालका पूर्वी पहाडमा रहेकाहरु (खास
गरेर लिम्बू समुदाय) को भाषा, संस्कृति र स्वतन्त्र राजनीतिक अस्तित्वको पक्षमा साहित्य सिर्जना गर्छ । यस
अर्थमा उत्तरवर्तीहरु आधुनिक नेपालको एकात्मक संरचनालाई चुनौती दिँदै पूर्वीय पहाडका स्थानीय
मिथक र स्थानीय सत्य (हरु) को पक्षमा लेख्छन्, सोच्छन् । ‘उत्तर’ को यो दोस्रो अर्थको तहमा
आइपुग्दा उत्तरवर्ती सोंच स्वायत्त जातीय प्रदेशको राजनीतिक मागसँग जोडिन पुगेको छ ।१
अर्को शब्दमा भन्दा पूर्वीय नेपालको उत्तरी क्षेत्रको भौगोलिक, सांस्कृतिक र राजनीतिक परिचय
पश्चिमी आधुनिकतापछि आएको ‘उत्तर – सोच’ सँग जोडिएको छ ।
यस किसिमको सैद्धान्तिक योगले दुई तीनवटा नयाँ मुद्दातिर संकेत गरेको छ । पहिलो – ‘उत्तर
’ को यस किसिमको दोहोरो अर्थले ‘उत्तरआधुनिकतावाद’ अराजनीतिक हुन्छ, अराजकतावादी हुन्छ
र यो पश्चिमी पूँजीवादको सांस्कृतिक स्वरुप मात्र हो भन्ने पुरानो माक्र्सवादी विचारलाई चुनौती
दिएको छ । उत्तरवर्तीहरुले देखाएका छन् उत्तरआधुनिकताको वैचारिक प्रतिमानलाई सिमान्तकृत समूहहरु
को अधिकार प्राप्तिको संघर्ष निम्ति पनि प्रयोग गर्न सकिँदो रहेछ । १९६० मा भएको अश्वेतहरुको
आन्दोलन, १९७० को नारीवादी आन्दोलन तथा १९८० पछाडिको समलिङ्गी आन्दोलनका प्रेरताहरु
ले उत्तर संरचनावादलाई वैचारिक शस्त्रको रुपमा प्रयोग गरेका थिए । उत्तरवर्तीहरुले पनि त्यसै गरेका
छन् । दोस्रो– उत्तरवर्ती सोचले पश्चिमी आधुनिकतालाई मात्र नभएर पश्चिमी उत्तरआधुनिकतालाई समे
त पुनर्लेखन गर्ने जमर्को गरेको छ । पूर्वीय पहाडका मिथक, भाषा – संस्कृतिमा विम्ब तथा दर्शनसँग
मिसिदै आउँदा युरोपेली पश्चिमी उत्तरआधुनिकताले पूर्वीय नेपाली रङ् समातेको छ । डेरिडा लिम्बू
बन्न पुगेका छन् ।
राज माङ्लाकको कविताको चर्चा गर्दै थाम्सुहाङ पुष्प सुब्बाले लिम्बू संस्कृतिको आध्य चिन्हको
चर्चा गरेका छन् । २

खाप्पुना–मरङना–स्व–रुप
आत्मा–भरि

स्क्यानिङ

सुब्बा लेख्छन् ‘...माथि प्रयुक्त चिन्ह लिम्बू जातिको अनुष्ठानगत परम्परा र सृष्टिकालीन
मुन्धुमको वर्णनात्मक विश्वासका आधारमा यो जातिभित्र अद्यापि प्रचलनमा कायम छ । लिम्बू भाषामा
‘सिलाम साक्मा’ अर्थात् मृत्यु तथा अन्य खराब दैवीक दण्डको अवरोधकका हैसियतमा तङसिङको
अनुष्ठानमा यसको प्रयोग गरिन्छ, र समाप्तिपछि चुला वा घरको धूरो वा मूल खाँबामाथि सुरक्षित र

ाखिन्छ । अत, यहाँ कविको विश्वस्ततामा ‘खाप्पुना मरङना’ अर्थात् सृष्टि दातृको आत्मा स्वरुप आफू
त्यही सृष्टिभित्रको स्वजातीय हो भन्ने स्व – पहिचान प्रस्तुत छ ।३ अर्को शब्दमा भन्दा आद्य चिन्हको
बीचमा रहेको ‘म’ ले एकातिर ‘सृष्टि दातृको आत्म स्वरुप’ जनाउँदछ भने अर्कोतिर लिम्बू
जातिको ‘स्वजातीयता’ वा जातीय पहिचानतिर अंकित गर्छ । एउटा यस्तो जातीय परिचय जुन आधुनिकताको
विश्वव्यापी प्रवाहभित्र परिभाषित ‘अन्य परिचय’ हरु भन्दा भिन्न छ तथा आफ्नो ‘फरक सत्य’
बाँच्दै आएको छ ।
उत्तरआधुनिकता र विश्वव्यापीकरणसँग जोडिएका सैद्धान्तिक मुद्दामा चाहिँ मित्रहरुसँग मेरो
आंशिक विमति छ । उत्तर–आधुनिकताका भिन्न चरण र प्रकारहरु छन् । स्थानिकता र बहुल सत्यको स्वीकारो
क्ति यसको सवल पक्ष हो भने कहिलेकाहिँ उत्तरआधुनिकतावाद अराजनीतिक स्वरुप लिँदै शैलीगत रुपले
मात्र प्रस्तुत हुन्छ । यस किसिमको ‘भाषिक खेल’ वा लीलालाई कतिपय सिद्धान्तविद्ले उत्तरआधुनिकताको
कमजोर पक्ष पनि भन्ने गरेका छन् । १९६०, १९७० र १९८० पछि विकशित उत्तरआधुनिकतावादका छुट्टाछुट्टै प्र
कारहरु छन् । ‘उत्तर’ को चर्चा गर्दा उत्तरआधुनिकतावादका यी आन्तरिक विभेदहरुलाई अलिकती भए
पनि खुट्याउनु पर्ने हो कि उत्तरवर्तीहरुले पुनर्लेखन गरेका उत्तरआधुनिकता कुन उत्तर–आधुनिकता हो
? आधुनिकताझंै उत्तरआधुनिकता (हरु) पनि बहुल छन् । मित्रहरुले कुन उत्तर–आधुनिकताको कुरो
गर्नुभएको हो ?
उत्तरआधुनिकताझैं विश्वव्यापीकरणको बारेमा पनि अझै घोत्लिनु पर्ने आवश्यकता दे
खिन्छ । सगुन सुसाराको लेख ‘तथाकथित भूमण्डलीकरण अस्वीकार’ ले भूमण्डलीयकरणको विश्वव्यापी
तथा ‘क्षेत्रीय’ दुवै पक्षलाई औंल्याएको छ ।४ एकातिर वस्तु, विम्ब, विचार आदिका विश्वव्यापी प्रवाह
पश्चिमबाट नेपालमा भित्रिदै छन् भने अर्कोतिर हिन्दी भाषा र साहित्य संस्कृतिका प्रभाव ‘दक्षिण’
बाट ‘उत्तर’ तिर छिर्दैछन् । अर्को शब्दमा भन्दा भूमण्डलीयकरणका विश्वव्यापी, क्षेत्रीय, राष्ट्रिय
तथा स्थानिक पक्षहरु छन् । पश्चीमी सेटलाइट टेलीभिजनको नेपाल प्रवेश विश्वव्यापीकरणको एउटा
नमुना हो भने भारतबाट उत्तर बग्ने हिन्दी गीत र फिल्म तथा चीन हुँदै आएका लुगा कपडा र सस्ता
इलेक्ट्रोनिक सामानको ‘दक्षिण’ प्रवाह भूमण्डलीयकरणकै अन्य स्वरुपहरु हुन् ।
भूमण्डलीयकरणको आलोचना गर्ने क्रममा प्रायः भनिन्छ – यसले संसारलाई समानिकरण (
होमोजेनाइज) गर्छ, र सांस्कृतिक भिन्नताहरुलाई मेट्दै लैजान्छ । सुसाराले यसै किसिमका तर्कलाई
पहिल्याएका छन्, र एक हदसम्म यो तर्क जायज पनि छ । तर, साथै अर्को तर्क पनि छ । अर्जुन अपादुराई
तथा माइक फिदरस्टोन जस्ता भूमण्डलीकरणका अध्येताहरुले भनेका छन्– विश्वव्यापीकरण एउटा
जटिल प्रकृया हो । यसमा समानिकरण र विभेदीकरणका समानान्तर प्रकृयाहरु साथसाथै चलिरहेका हुन्छन् ।
एकातिर विश्वव्यापीकरणको प्रवाहले सारा संसारलाई एकै रङमा रंगन खोज्छ । साथसाथै त्यस्तो समानीकर
णको प्रतिरोधमा विभिन्न जाति, संस्कृतिहरुले आआफ्नो पृथक परिचयका रङहरु पनि साथसाथै खोज्दै
हुन्छन् । समानिकरणद्वारा सिर्जित कृतिम अर्डरको ‘सृजनात्मक–विखण्डन’ गर्दै (उत्तर) आधुनिक अर
ाजकताभित्र आआफ्ना सांस्कृतिक परिचय खोज्दै हुन्छन् । अझ कहिलेकाहिँ त विदेशबाट आएका विचार,
विम्ब र प्रविधिलाई आआफ्नै स्थानिक प्रविधि, मिथक र इतिहाससँग जोड्दै नयाँ ‘मिश्रित’ स्वरुपहरु
को सिर्जनासमेत गर्छन् । समानिकरण, विभेदिकरण तथा सांस्कृतिक मिश्रणका यी तीन वटा सामानान्तर प्र
कृयाहरुको परिमाण नै समसामयिक विश्वव्यापीकरण हो । के उत्तरवर्ती सोच आफै पनि यी तीनै किसिमका
प्रकृयाहरुको संयुक्त परिमाण होइन र ? एकातिर यसले पश्चिमेली ‘उत्तर’ हरु (उत्तर संरचनावाद
र उत्तर–आधुनिकतावाद) का सैद्धान्तिक उपाय वा दृष्टिको प्रयोग गरेको छ । अर्कोतिर यसले भिन्नताको
पक्षमा तर्क गर्दै लिम्बू संस्कृतिका शब्द, स्थानिक विम्ब र मिथकहरुलाई साहित्यिक मूलधारमा ल्याएको
छ । यस बाहेक यसले पश्चिम र पूर्वका ‘उत्तर’ हरुलाई मिसाउँदै नयाँ मिश्रित आधुनिकताको निर्माण
गर्दै लगेको छ ।

प्रायः सबै उत्तरवर्तीहरुले सांस्कृतिक, भाषिक तथा जातीय भिन्नताको पक्षमा तर्क गरेका
छन् । तर, साथसाथै बुभ्mनुपर्ने कुरो अर्को पनि छ– भिन्नताको संरचनाभित्र पनि अझ धेरै भिन्नताहरु
छन् । बाहुन, क्षेत्री, नेवार तथा अन्य जनजातिजस्तै लिम्बू समुदायमा पनि केही बढी धनी र केही
तुलनात्मक रुपले गरीब व्यक्ति पक्कै होलान् । बाहुन–क्षेत्रीको तुलनामा लिम्बू समुदायका नार
ीलाई बढी स्वतन्त्रता भए पनि अन्य सबै समुदायझैं लिम्बू समाज पनि पितृसतात्मक भएकोले त्यसमा
पनि नारीको तुलनामा पुरुषहरुले बढी सुविधा पाएकै होलान् । अन्य समुदायमा झैं
लिम्बू समुदायभित्र पनि समलिङ्गीहरुलाई विपरित लिङ्गीले उपेक्षाको दृष्टिले हेरेकै होलान् ।
त्यहाँ पनि सपाङ्गहरुको स्थिति विपाङ्ग (वा फरक क्षमता भएका व्यक्तिहरुको) तुलनात्मक आंशिकरुपले
भएपनि बेसै होला । अर्को शब्दमा भन्दा उत्तरवर्ती विचारले ‘जातीय’ भिन्नताको कुरो उठाउँदा
जातिको छहारीमुनि रहेका अन्य भिन्नताहरुप्रति आँखा चिम्लनु भएन । मित्रहरुले ‘बहुल केन्द्र’ को
पक्षमा आवाज उठाउनु भएको छ । कुरो राम्रै हो । तर, एकात्मक केन्द्रलाई भत्काएर थुप्रै केन्द्र
बनाउने बित्तिकै सामाजिक न्याय र लोकतन्त्रसहितको राष्ट्र र समाज बनिहाल्नेवाला छैन । कतै ती नयाँ
बनेका सह केन्द्रहरु पनि ‘अन्य’ भिन्नतालाई निषेधित गर्ने पुरानै किसिमको केन्द्र त बन्ने हो
इनन् ? स्वअस्तित्वको कुरो उठाउनु भएको छ । कुरो ठीक हो । तर ‘स्व’ वा आत्मपरिचयलाई सधैं
‘अर्का’ (अदर) मध्येका चलिरहने अन्तरसम्बन्धले परिभाषित गरिरहेको हुन्छ । एकातिर
लिम्बू समुदायभित्रै पुरुष–नारी, हुने–नहुने, समाङ्ग–अपाङ्गलगायतका विभिन्न किसिमका आफ्नो र
‘अर्का’ अरु छन् अर्कोतिर लिम्बू समुदाय बाहिर पनि अन्य जात, धर्म, संस्कृतिका अन्य भाषा बोल्ने
मानिस छन् । ती सबै ‘अर्का’ मिलेर सिङ्गो नेपाल राष्ट्र बनेको छ । के उत्तरवर्ती सोच सबै किसिमका
‘अर्का’ हरुको भिन्नतालाई र ती अर्का (हरु) सँग आफ्नो अन्तरसम्बन्ध स्वीकार गर्दै अघि बढ्ने
सिर्जनात्मक सोच हुनेछ ? वा एकात्मक केन्द्रको प्रतिरोधमा स्थापित गरिएका बहुकेन्द्रहरुभित्र पनि
‘अर्का’ लाई निषेधित वा दमन गरिने पुरानै सोचले निरन्तरता पाउने छ ? केही उत्तर आइसके । अरु
अझै स्पष्ट भइसकेका छैनन् ।

(१ हेर्नुहोस, थाम्सुहाङ पुष्प सुब्बाको लेर्ख लिम्बुवानको पृष्ठभूमि र भावि दिशावोर्ध सुम्हालुङ,
वर्ष – ११, अङ्क – ५, २०६५, १ – १०) यसै अङ्कमा छापिएको दिलेन्द्र कुरुम्बाङको लेर्ख सङ्घात्मक
शासन प्रणाली भित्र लिम्बूवान (.१२ – १६) ले पनि यही प्रश्न उठाएको छ ।)
२ आखीझ्याल (वर्ष – ७, अङ्क – १२)
३. थाम्सुहाङ पुष्प सुब्बा ‘चक्रव्यूहभित्रको चक्रव्यूह’ आँखीझ्याल, वर्ष ७, अङ्क १
२, २०६५, ६–७
४. सगुन सुसारा ‘तथाकथित भूमण्डलीयकरणको अस्वीकार’ साहित्यिक आँखीझ्याल, वर्ष ७,
अङ्क १२, २०६५, ११–१४

No comments:

Post a Comment

प्रतिक्रिया समाबेशका निम्ती तल Comment As Roll नेर Name/URL Select गरेमा तपाइलाई सजिलो हुनेछ।