Thursday, January 22, 2009


भयवाद एक चर्चा
-मोनाराज शेर्मा
देश सुब्बाको आदिवासी र भयवाद
-------------------------------------------------------------------------------------
विचार निर्बन्ध हुन्छ । सिमाना साँधहरू भौतिक वस्तुहरू हुन् । विचार जन्मन्छ समयको हेरिफेरिमा र फैलिन्छ युगयुगान्तर । विचार दर्शनकै आड लिएर वादहरूले आकार प्राप्त गर्छन् । विचारको विरुद्ध जोरी खोज्नेहरू एक न एक दिन पहिरो जस्तै उक्किएर र्झछन् गर्ल्याम्म । फुट्छन् हिम नदीजस्तै । मान्छेले जहिल्यै अग्रगमन चाहान्छ । थुप्रिएर, गुँडुल्किएर थिग्रिएर रहनु मात्र यथास्थिति होइन नूतन चिजको हार्दिकताको अस्वीकार पनि जड हो । विचारको, समयको समुद्रमा तैरिनेहरू नवीन रहेका भङ्गालाहरू र नदीहरूप्रति हिजो छोडिएका अदेखा रहेका वस्तुताहरू, सत्यताहरू आफू वरिपरि नै इस्पात बाँचिरहेका, अपहेलित ठानिएका, असभ्य ठानिएका मिथकीय नश्लका महासागरहरू आज लोकतान्त्रिक धारबाट गणतान्त्रिक दृष्टिकोणबाट संघीयता कै पृष्ठपोषण गर्दै मात्रै आएका हुन् ठानिएबाट समयहरू समयकै विरुद्ध उठ्नु हुँदैन ।
हामी आफू महान् गनिनलार्इ, वरिष्ठ ठहरिनलाई उता मात्र पढ्यौँ । त्यतैको सोच्नेहरू, पारिकै लेख्नेहरू ठूला गनियौँ । नबुझि पढिरहँदा पनि त्यो ठूलै भयो । जिप्टिएर यता मिथक पस्दा हाम्रो लेखनीमा, मुनामदनमा नेवारी लोककथा खै त्यो भन्दा कुन मिथक बोकेको अर्को कृति महान् बन्यो । सरमले त्यो पछि बाहिर आयो । लाज हुनुपर्ने हो हामीलाई । खुब गर्‍यौँ सोचिरहँदा त खाली उनीहरूको धर्म लेखेछौँ । उनीहरूकै जीवन लेखेछौँ । फर्केर हर्ेदा कति कति डङ्गुुर मिथकहरू खिया हाम्रै नादानीले लागिसकेकोछ । विचार खेल्नै त हो, बुद्धिचाल बाघचाल जस्तै शब्दहरूलाई तौलिने, जोड्ने, घटाउने दिमागी भूमिका । देश सुब्बा एउटा राम्रो विचारका खेलाडी हुन् । धेरै गोल गर्ने क्षमता छ उनमा । मिथकीय खेलाडी हुन् उनी ।
भयवाद
भयबाद शब्द डर, त्रास, निषाद जस्ता शब्दसँग सम्बन्ध राख्दछ । सामान्य अर्थमा पनि यो समाज सिर्जनामा भयको अद्धितीय स्थान छ । कुनै एउटा मान्छे चाँडै घर र्फकन्छ कारण ऊमा परिवारप्रतिको भय छ । हामी घर बनाउँछौँ । यो सुरक्षा र सुनिश्चितताको भय हो । हरेक व्यक्ति परिवार, समाज, इज्जत मानमर्यादासँग भय राखेकै कारण ऊ चुक्नबाट बच्छ । उनको दृष्टिकोणमा अर्जुनको, युद्ध हारिने, पाप लाग्ने आदि भयकै निरुपणको कारण कृष्णद्वारा सम्झाइएका उपदेशहरूको सार वस्तु नै गीता, गीता मात्र नभएर भय गीता भयो भन्ने ठान्छन् । उनको जेजति छ सम्पर्ूण्ाता भित्र कही नै कही भय लुप्त छ । र्सवव्यापक छ कण कणमा, निर्माणमा, विध्वंसमा, शान्तित्वमा आदि आदि । धर्मेन्द्र नेम्बाङ रंगवादमा धारण राख्दै भयवाद त्यही नश्ल हो जुन नश्ल रंगवादमा छ । झर्र्रोवादमा छ । लीलामा छ । सिर्जनशील अराजकतामा छ । मयमा छ । मुक्त लेखनमा छ । आयामिक लेखनमा छ ।
भयवादमा भयका अवयवहरू सँग फ्रेमिङ छ । वाद हुनु विचारको सिमान्तता हो । समय अन्तरालमा वाद फ्रेम बाहिरिन्छ । त्यो नूतनतालाई छोड्ने हो भने वाद सीमितता छोडेर बन्धन तौड्दै बाहिरिन्छ । जसरी प्रकृतवाद, स्वच्छन्दवाद, परिष्कारवाद सिमान्तकृत भयो । आधुनिक लेखन रहिरहेकै भए उत्तर आधुनिक सम्भव आउने थिएन । हरेक समयमा, हरेक रचना, लेखन वा विचार आधुनिक नै रहन्छ । आजको हाम्रो चिन्तन कालान्तरमा पुरानो वा क्लासिक हुन सक्छ । तर अहिले त यो आधुनिक नै छ । भयवाद पनि निश्चित सिमा पछि फ्रेम आउट हुन्छ नै त्यति खेर के भन्ने - उत्तर भयवाद वा निर्भयवाद । आज निश्चित नै भयले खोजेको बहुलसत्ता हुनसक्छ । केन्द्रको विध्वंश र भय केन्द्रमा जाने वा समकेन्द्रहरूको स्थापनामा भयले समकेन्द्रहरूको स्थापना गर्नुपर्छ जस्तो लाग्छ ।
भयको प्रकट क्षेत्र, खोज, बाटा, छट्पट्याहट र भयको प्राप्ति तिन भागमा विभाजित छ आदिवासी उपन्यास । नेपाली राजनीतिमा आएको संघीय लोकतान्त्रिक गणतन्त्र हिजो मुलधारबाट छोडिएका आदिवासीहरूको समावेसी प्रतिनिधित्वको उठान भैरहँदा आदिवासीको प्रमाणिकताका लागि चाहिने पुरातात्विक वस्तुता, भाषा, लिपि, संस्कृति, धर्म, भेष, प्राचीनता आदिको प्रमाणिकता बारेको चिन्तनले लेखकमा भय प्रकट हुन्छ । भयको क्षेत्र मानसिक र शारिरीक क्षेत्रहरू हुन् । जहाँ लेखक बढी सोचाइ र शारिरीक पीडाले समस्या ग्रस्त हुन्छ । एउटा साइको युक्त नायक मुक्तिको खोजमा घर त्याग गर्छ । यो भयको मानसिक बिम्ब हो । भयको खोजमा स्वयम् भय बोकेर हिँड्छन् लेखक दोस्रो भागमा । प्राचीन किराँती मिथकहरूको उपयोग गरेर भय अन्वेषण गर्छन् लेखक । आठर्राईको उत्तरवर्ती सुम्दो गाउँ र त्यहाँ रहेको आदिम रूख सिमलको रूख नै भयको बाटा वा साध्य भए, बीचमा भेटिएकी तपस्वी किराँती लिपिका स्रष्टा र प्रचारक सिरीजङ्गा हुन् । नयाँ वर्षकार्यक्रमका संयोजक तुत्तु फाल्गु नन्द हुन् भने बालिका सुम्निमा हुन् । सिरीजङ्गाले किराँती राज्य हरण भएपछि गरेको भाषा सँस्कृति र सभ्यताको प्रचार मिथकीय बिम्बको रूपमा आएको छ । गुफा भित्रको चित्र, लिपि र वाक्यहरूले इजिप्सियन सभ्यताहरूको र ऋषिकालिन सभ्यताहरूको झझल्को दिन्छ । यद्यपि यो आदिम किराँतीहरूले आफ्नो भाषा र सभ्यताको कसरी संरक्षण गरे एउटा नमूना हो भने १२ वर्षो जनयुद्धको विम्बात्मक प्रस्तुति पनि हो । आदिम रूख मानव सभ्यताको विम्ब हो । मानव सृष्टिकै नौतला घर हो जहाँ नामसामीले केसामी बाघको हत्या गरी मानवको विकासको लागि सृष्टिकै महानतम् भय भोगेको वृक्ष हो । प्रकृति हो । भर्जिनिटि हो । त्यसैले त्यहाँ भयको उद्गमता छ । महाज्ञान छ आदिम रुखमा । किराँती सँस्कृतिले कोही साना ठूला हुँदैनन् । किराँती र अन्य आदिवासीहरू पनि शान्तिका पक्षधर नै हुन् । अवसरको खाँच्ाो छ । लिम्बूहरू किराँती होइनन् यदाकदा ओकलिरहँदा समयहरू, आदिवासीहरूको भाषा, सँस्कृति बाहुल्यताका आधारमा संघीयता, प्रादेशिक विभाजन मिल्न नसक्ने कुरा केन्द्रिय सत्ताले छादिरहँदा देश सुब्बाले भयवाद मार्फ निरुपण गर्ने प्रयास गरेका छन् । उनले सावाला खोलाको हेरिफेरिमा सुम्दो गाउँहरू डुल्दै किराँती आदिवासीहरूको दरवारको भग्नावशेषहरूको खोज गरेर गुफाहरूमा चित्र र लिपिहरूको उजागर गरेर, भष्मे फाड्दै आदिम रूखको पहिचान गरेर किराँतीमा होइन विश्वकै आदिवासी वा मानव इतिहासकै स्थायित्व र प्राचीनताको आधिकारिताको, प्रमाणिकताको इंगित गरेका छन् विम्बहरूमा खेलेर । भयवादका लेखक, प्रस्तोता देश सुब्बा विम्बका वनझाँक्री हुन् । उनी विचारका किराँत भूमिमा प्रमाणिकता र आधिकारिकताका लासो र घुङ्गरिङ् खेलाउँछन् । उनीमा शंका छ केन्द्रिय सत्ताले जानीजानी आदिवासीलाई बाईपास गरेको हो की भन्ने भय छ । "ङ" उच्चारण किराँती मानव सभ्यताको मात्र नभै मानव सभ्यताकै शुरुको भाषा हो । अहिले पनि कुल पुजा तङ्सिङ्ग गर्दा नाहेन भाले काटेपछि यो उच्चारण गरिन्छ ।
भयवादको उद्देश्य
सभ्य विकसित समाजको निर्माण । विपक्षीको कित्तामा सिर्जनात्मक भय उत्पन्न गरेर सौहार्दताको निर्माण ।

भय र प्रकृति
निसाम्ले बुद्धले हिजो घर छोडे जस्तै, मान्छेका रोग, बुढ्याई र मृत्यु देखेर भय महसुस गरेका थिए । त्यसको छट्पटाहटले गृह त्यागी आदिम रूख वा प्रकृतिमा नै भयको निरुपण पाए त्यसरी नै लेखक निसाम् गृह त्याग गर्छन् । यो एउटा विम्ब हो । संसार भयको महाप्रलयमा छ । संसार भौतिक सुखले आधुनिक होडबाजी र अस्त्र युद्धले पृथ्वीमात्र होइन ब्रह्रमाण्ड नै कब्जा गर्ने सुरमा छन् । यो सब भयकै खातिर हो, र्सवश्रेष्ठताकै निमित्त । त्यसैले लेखक भयको निरुपणमा र्फकनु पर्ने विम्ब सम्प्रेषण गर्छन् भय सबभन्दा ज्यादा प्रकृतिमा छ । पहिरो, सुनामी, आँधी, बाढी, भर्ुइचालो, महामारी, रोगव्याधी आदि सब भय हुन् ।
शब्द भय
निरङकुश सत्तामा प्रत्येक स्वतन्त्रता ओकल्ने शब्दसँग भय हुन्छ । एउटा इमान्दार मान्छेलाई व्यभिचार र बेइमानका शब्दसँग भय हुन्छ । साम्यवादमा स्वतन्त्रता भय हुन्छ । प्रजातन्त्रमा साम्यवाद भय हुन्छ । एउटा मध्य सडकमा हिँडिरहेकी आमा बच्चाको रोदनले भस्किन्छे तर अर्को हुन्छ यो माया भय हो । लिम्बूनी बजुले बाख्रा बेच्दा अलिकति रौँ उखेलेर खोरतिर फाल्छिन् यो त्यागमा भय हो ।
भयवाद विचारको निरन्तरता हो
हिन्दर्ूधर्मका पवित्र शास्त्रहरू जनश्रुतिकै आधारमा एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्‍यो र पछि लिपिबद्ध भयो । मुन्धुम फेदाङ्बा, साम्बा, येबा र तुत्तुङेन तुम्याङहाङहरूले जनश्रुतिकै आधारमा बार्चश्व राखे र पछि सिरीजङ्गा, फाल्गुनन्द हुर्ँर्दै आत्मानन्दसम्म आयो र लिपिबद्ध भयो । यद्यपि यो किँराती समुदायमा जनश्रुति नै छ ।
भयवादले मिथकहरूको जङ्गल उमार्छ
हामीले पश्चिमा मिथक लेख्यौ तर हाम्रो चाहिँ बिस्र्यौ । हाम्रा मिथकहरू पनि वैज्ञानिक छन् भय सृजनामा, समाज विकासमा हरेक कुरा पछि पाप लाग्छ, देउता रिसाउँछ, यसको पछाडि पनि वैज्ञानिक सत्य छ । भयवाद त्यसको खोजी गर्दै निरुपण चाहान्छ । पहाडमा हाप्सिलो मध्यरातमा कराउँदा लिम्बूनी बजु पटुकी खोलेर प्रत्येक आवाज पिच्छे पटुकी गाठो पार्छिन् र बच्चाहरूलाई आश्वासन बाँड्छिन् ।
भयको कारक मान्छे नै हो
भय मान्छेले मान्छेमाथि गरेको विभेद, अत्याचार दमन शोषणले गर्दा जन्म्यो । यसको कारक मान्छे हो । कारण ऊ उचाइ चाहान्छ अरुभन्दा माथि र अरुलाई तल हर्ेर्ने शासन चाहान्छ । यसको प्रतिवादमा आतङ्क जन्मिन्छ । यो भयको पराकाष्ट हो ।
भयको निरुपण
भयको निरुपण निर्भयको अभ्यास हो । हरेक समय र घटनामा मान्छेले भय महसुस गर्छ । पहिलो भय समाप्त भएपनि अर्को तत्काल देखा पर्छ । भय विहिनता आफै एउटा भय हो । भय नहुनु सृजनशिलताको समाप्ति हो ।
( २०६५।४।१८मा धरानमा गरिएका बहस कार्यक्रममा प्रस्तुत पत्र )

No comments:

Post a Comment

प्रतिक्रिया समाबेशका निम्ती तल Comment As Roll नेर Name/URL Select गरेमा तपाइलाई सजिलो हुनेछ।